गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न जरुरी छःमुख्यमन्त्री आचार्य

भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडान नियमित बनाउन विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको उल्लेख गरे । संघीय सरकारले विमानस्थल सञ्चालनका विषयमा अविलम्ब ध्यान दिनुपर्ने भन्दै उनले प्रदेश सरकार पूर्ण साझेदारीका लागि तयार रहेको स्पष्ट पारे । तर, प्रदेश सरकारले अघि सारेका प्रस्तावहरूमा संघीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

“आज यही मञ्चबाट संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” मुख्यमन्त्री आचार्यले भने, “लुम्बिनी प्रदेशमा जुन लक्ष्य र उद्देश्यका साथ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो, त्यसअनुसार यसलाई नियमित रूपमा सञ्चालन गर्न प्रदेश सरकारको तर्फबाट हामी जोडदार आवाज उठाइरहेका छौँ । आजको अवस्था रहिरहे भोलि हाम्रा व्यवसायी धरासायी हुन सक्छन् । त्यसैले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार गर्दै विश्वास आर्जन गरी विमानस्थल नियमित सञ्चालन गर्नैपर्छ । यसका लागि प्रदेश सरकारले लिनुपर्ने जुनसुकै जिम्मेवारी लिन हामी तयार छौँ ।”

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार परिणाममुखी ढंगले काम गर्न प्रतिबद्ध रहेको बताउँदै व्यवसायीहरूका समस्या समाधानका लागि पटक–पटक छलफल भए पनि ठोस समाधान हुन नसकेको बताए । उनले संघीय सरकार तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा तय गरिएका लक्ष्य र उद्देश्यअनुसार तत्काल नियमित सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे ।

विमानस्थल सञ्चालन नहुँदा स्थानीय व्यवसायीहरू धरासायी हुने अवस्था आउन नदिन अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार र विश्वास निर्माण आवश्यक रहेको उनको भनाइ थियो । आवश्यक परे प्रदेश सरकारले थप जिम्मेवारी लिन तयार रहेको उल्लेख गर्दै श्रम स्वीकृति दिने कार्यालय भैरहवामै स्थापना गर्न तथा स्वास्थ्य परीक्षणको जिम्मेवारी प्रदेश सरकारले लिन प्रस्ताव गरिएको स्मरण गराए । तर, संघीय सरकारले सम्बन्धित अधिकार नदिँदा ती कार्य अघि बढ्न नसकेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation