जेन–जी आन्दोलनका घाइतेमध्ये १८३ जनाको मात्रै वर्गीकरण

काठमाण्डौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ २३ र २४ मा भएको जेन–जी विद्रोहका क्रममा घाइते दुई हजार ५२३ मध्ये १८३ जनाको मात्र वर्गीकरण गरेको छ । अझै दुई हजार ३४० घाइतेको वर्गीकरण हुन बाँकी छ ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार काठमाडौंबाट १६९, कास्कीबाट सात र चितवन प्रशासनबाट प्राप्त सात घाइतेको विवरणअनुसार चार समूहमा वर्गीकरण गरिएको हो । अन्य जिल्लाबाट विवरण आउन बाँकी छ ।

काठमाडौंमा १६९ घाइते भएकामा १६ जना अति गम्भीर, ५२ गम्भीर, ५२ घाइते, ३७ मध्यम घाइते र ६४ सामान्य घाइतेमा परेका छन् । कास्कीको तथ्यांकअनुसार अति गम्भीर घाइते दुई, गम्भीर घाइते तीनजना र सामान्य घाइते दुई गरी सातजना छन् । त्यस्तै, चितवनबाट प्राप्त तथ्यांकअनुसार तीनजना मध्यम घाइते र चारजना सामान्य घाइते छन् । घाइते भएकामध्ये ७३३ जनाले जेन–जी घाइते परिचयपत्र लिइसकेका छन् । ‘मोटामोटी यति घाइते हुन् भनेर त हामीकहाँ तथ्यांक छ, तर त्यसलाई हामीले छानबिन गरिरहेका छौँ, वास्तविक घाइते हुनुपर्छ भनेर केलाउन लागिएको हो, मन्त्रालयले कार्यदल नै बनाएर काम गरिरहेको छ,’ प्रवक्ता डा। बुढाथोकीले भने, ‘आउँदो सातासम्म बाँकी जिल्लाबाट पनि तथ्यांक आइसक्छ, छिट्टै वर्गीकरण सकाउँछौँ ।’ उनका अनुसार वर्गीकरण सकिएपछि तथ्यांक गृह मन्त्रालयलाई पठाइनेछ ।

घाइतेको वर्गीकरणका लागि मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालय, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा। सरोज शर्मा नेतृत्वको विज्ञसमितिले वर्गीकरण गरिरहेको हो । समितिले पनि हरेक जिल्लामा सहजीकरण समिति खडा गरेर तथ्यांक संकलन गर्ने गरेको छ । जिल्ला सहजीकरण समितिको बैठकको संयोजकत्व सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले गर्छन् । त्यहाँबाट आएको तथ्यांकलाई अन्तिम तथ्यांक मान्ने गरिन्छ । जिल्ला प्रशासनले वर्गीकरण गर्दा घाइते परिचयपत्र हेर्छ । तर, जम्मा ७३३ ले मात्रै परिचयपत्र लिएकाले अन्य घाइतेको विवरण आउन कठिन हुने देखिएको मन्त्रालयका प्रवक्ता डा। बुढाथोकीले बताए । उनका अनुसार जेन–जी घाइतेको परिचयपत्र नलिएका घाइते वर्गीकरणमा पर्दैनन् । नयाँ पत्रिकाबाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation