पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–फोक्सिङकोटकी कमला सारूले पढाइ यति छिट्टै अधुरो हुनेछ भनेर कहिल्यै सोचेकी थिइनन् । उच्च शिक्षा हासिल गर्ने ठुलो सपना बोकेकी कमलाको जीवन भने कक्षा ८ पूरा गर्न नपाउँदै मोडियो ।
गाउँकै एक युवकसँग भएको प्रेम सम्बन्ध विवाहमा परिणत भयो । विवाहको एक वर्ष नबित्दै उनी आमा बनिन् । त्यसपछि घरधन्दा र बच्चा हुर्काउने जिम्मेवारीले उनको पढाइ र भविष्यका सपनाहरू ओझेलमा परे ।
“पढेर ठुलो मान्छे बन्ने सपना थियो,” उनी भन्छिन्, “तर अहिले दिनभरि घरको काम र बच्चा सम्हाल्दै समय बित्छ । कहिलेकाहीँ लाग्छ, पढाइ नछुटेको भए जीवन फरक हुन्थ्यो ।”
कमला मात्र होइनन्, उनीसँगै विद्यालय जाने विद्या रानाको कथा पनि उस्तै छ । मोबाइल फोनमार्फत रुपन्देहीको देवदहका एक युवकसँग चिनजान भयो । चिनजान प्रेममा बदलियो र तीन महिनामै विवाहमा परिणत भयो । विवाहपछि घरायसी जिम्मेवारी बढ्दै गएपछि उनले पढाइ छोड्नुप-यो ।
“त्यति बेला माया नै सबै थोक जस्तो लाग्यो,” विद्या भन्छिन्, “तर अहिले पढाइ छुटेको सम्झँदा धेरै पछुतो हुन्छ ।”
निस्दी गाउँपालिका मित्यालकी विपना सुनारीको सपना भने स्टाफ नर्स पढेर विदेश जाने थियो ।स्थानीय गौरीशङ्कर माध्यमिक विद्यालयमा पढ्दै गर्दा सामाजिक सञ्जालमार्फत छिमेकी जिल्ला नवलपुरको कावासोतीका एक युवकसँग चिनजान भयो । चिनजान प्रेममा परिणत भयो र अन्ततः विवाह भयो ।
विवाहसँगै उनका धेरै सपनाहरू टुटे । “नर्स बन्ने सपना थियो, तर अहिले त्यो सपना आँसुसँग साटिएको जस्तो लाग्छ,” उनी भन्छिन् ।
यस्ता घटना पाल्पाका ग्रामीण बस्तीमा थुप्रै छन् । सुनौलो भविष्यको सपना बोकेका धेरै किशोरीहरू सानो उमेरमै विवाहका कारण पढाइबाट टाढा हुन बाध्य भएका छन् । पूर्व खोला गाउँपालिका–सिलुवाकी १७ वर्षीया विनीता वयम्बु पनि यस्तै अनुभव सुनाउँछिन् । “लहैलहैमा माया बस्यो, त्यसपछि गर्भ बस्यो । विवाह भएपछि पढाइ भन्ने कुरा नै हरायो,” उनी भन्छिन् । “अहिले पछुतो मात्र बाँकी छ ।”
तानसेन नगरपालिका–९ की सम्झना रानाको अनुभव अझ पीडादायी छ । साथीको घरमा पढ्न जाँदा साथीको भाइसँग प्रेम सम्बन्ध भयो । केही समयपछि उनी गर्भवती भइन् । तर परिवारले स्वीकार गरेन । उमेर नपुगेकाले विवाह दर्ता पनि भएन । पछि केटा नै बेपत्ता भएपछि उनले एक्लै जीवनको सङ्घर्ष सामना गर्नुप-यो । “न परिवारले साथ दियो, न उसले,” सम्झना भन्छिन्, “अब बच्चा र आफ्नै जीवनको जिम्मेवारी एक्लैले उठाइरहेकी छु ।”
नेपालमा कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न रोक लगाएको छ । तर व्यवहारमा भने यो नियम पूर्ण रूपमा लागू हुन सकेको छैन । पाल्पाका माथागढी, निस्दी, रम्भा र पूर्व खोला गाउँपालिका मात्र होइन, बजार क्षेत्रमै पनि उमेर नपुग्दै विवाह हुने घटनाहरू देखिने गरेको स्थानीय सरोकारवालाहरू बताउँछन् ।
निस्दी गाउँपालिका मित्यालका जनप्रतिनिधि सन्तवीर सुनारीका अनुसार स्थानीय सरकारले बालविवाह रोक्न प्रयास गरिरहेको छ । “अहिले २० वर्ष नपुगेसम्म विवाह दर्ता हुँदैन,” उनी भन्छन्, “तर कहिलेकाहीँ लहैलहैमा युवायुवती आफैँ विवाह गर्ने गरेका छन् ।”
उनका अनुसार जनजाति समुदायमा यस्ता घटना बढी देखिए पनि यसको मुख्य कारण चेतनाको कमीभन्दा पनि भावनात्मक आवेग र सामाजिक दबाब हो ।
माथागढी गाउँपालिका बहादुरपुरकी मोनिका दर्लामी पनि सानो उमेरमा विवाह गरेकोमा पछुतो मान्छिन् । “सानै उमेरमा विवाह, त्यसपछि आमा बन्नु, कहिलेकाहीँ श्रीमान्–श्रीमतीबिच मेल नमिल्दा छुट्टिनुपर्ने अवस्था आउँदा बच्चाहरू पनि पीडित हुन्छन्,” उनी भन्छिन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार सूचना र प्रविधिको विस्तारसँगै सामाजिक सञ्जालले पनि किशोर–किशोरीको सम्बन्धलाई छिटो नजिक बनाइदिएको छ ।
पूर्व खोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाका अनुसार अहिले धेरै विवाह सामाजिक सञ्जालबाट सुरु हुने गरेका छन् । “सबैको हातमा मोबाइल छ, सामाजिक सञ्जालबाट चिनजान हुन्छ र छिट्टै सम्बन्ध अघि बढ्छ,” उनी भन्छन्, “यसलाई नियन्त्रण गर्न पनि चुनौती बढेको छ ।”
स्वास्थ्यका दृष्टिले पनि सानो उमेरमा विवाह र गर्भधारण जोखिमपूर्ण मानिन्छ । पाल्पा अस्पतालका प्रमुख डा. राजेन्द्र पौडेलका अनुसार किशोरी अवस्थामा शरीरका सबै अङ्ग पूर्ण रूपमा विकसित भइसकेका हुँदैनन् । यस्तो अवस्थामा गर्भधारण र सुत्केरी हुँदा मातृ तथा शिशु स्वास्थ्यमा जोखिम बढ्ने सम्भावना हुन्छ ।
“किशोरी अवस्थामा गर्भधारण हुँदा जटिलता बढ्ने खतरा हुन्छ,” डा. पौडेल भन्छन्, “यौन तथा प्रजनन स्वास्थ्यबारे शिक्षा प्रभावकारी बनाउन सके मातृ र शिशु मृत्युदर अझ कम गर्न सकिन्छ ।”
ग्रामीण बस्तीका किशोरीहरूको पढाइ, सपना र भविष्य जोगाउन बालविवाह नियन्त्रण, शिक्षा सचेतना र परिवारको साथ–सहयोग अझ आवश्यक देखिएको छ ।बुटवल टुँडेबाट साभार
















