काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि २ महिना बाँकी हुँदा गत स्थानीय तहको निर्वाचनमा व्यक्त जनमतको अपमान सुरु भएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले प्रत्यक्षतर्फ सिफारिस गरेका नामावलीको सूची हेर्दा स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय निर्वाचनमा लड्ने चाहना गरेको देखिएको छ ।
नियमित रूपमा निर्वाचन हुँदा २०८४ मा हुने प्रतिनिधिसभा निर्वाचनअगावै कार्यकाल सकिने र त्यसमा आफू उम्मेदवार नभएर प्रतिनिधिसभा वा प्रदेश सभामा जाने विकल्प रोज्नसक्ने स्थानीय तहका जनप्रतिनिधि जेनजी आन्दोलनका कारण संसद् विघटन भएपछि २१ फागुनकै निर्वाचनमा सहभागी हुने मुडमा पुगेका छन्
आफूले निर्वाचन जित्दा संघीयताको मर्मअनुसार जगको सरकार मानिने स्थानीय तहमार्फत कायापलट गर्ने सपना बाँडेर नेतृत्वमा पुगेका स्थानीय जनप्रतिनिधिहरू धमाधम संघीय संसद् बन्ने चाहनासहित छलफलमा जुट्नु र राजीनामाको तयारीमा र हनुले जगैदेखि जनमतको अपमान भएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।
स्थानीय तहको निर्वाचित जनप्रतिनिधिले पद त्याग गर्न सक्ने कानुनी व्यवस्था भएपनि तत्कालै अर्को पदमा उम्मेदवार हुन रोक्ने व्यवस्था नभएका कारण स्थानीय तह त्यागेर संघीय संसदमा उठ्ने सम्भावना बढेको पाइएको छ । स्थानीय तहमा दोस्रो कार्यकाल पूरा गरेकाहरू स्थानीय तहको पद त्याग गरेर संघीय चुनावमा सहभागी हुन रहर गरेको बुझिएको छ भन्दै निर्वाचन आयोगका अधिकारीहरूले भने उम्मेदवारी दर्ता हुने दिनसम्ममा अन्य कुनै पदमा नरहेको अवस्था हुँदा उम्मेदवारीमा विवाद नहुने बताएका छन् ।
नियमित रूपमा निर्वाचन हुँदा २०८४ मा हुने प्रतिनिधिसभा निर्वाचन अगावै आफूहरूको कार्यकाल सकिने र त्यो निर्वाचनमा आफू उम्मेदवार नभएर प्रतिनिधिसभा वा प्रदेश सभामा जाने विकल्प रोज्न सक्ने स्थानीय तहका जनप्रतिनिधिहरू जेनजी आन्दोलनका कारण संसद् विघटन भएपछि २१ फागुनकै निर्वाचनमा सहभागी हुने मुडमा पुगेका हुन् ।
दुई कार्यकाल स्थानीय तहमा चुनाव जितेकाहरूमा विशेष गरी संघीय संसदमा उम्मेदवार हुने चाहना बढेको पाइएको छ । तेस्रो पटक स्थानीय तहमा उम्मेदवार हुन नैतिक र कानुनी समस्या सिर्जना हुने सम्भावना र उदीयमान राजनीतिक विचारधार ाका पक्षधरहरूले स्थानीय तह त्यागेर संघीय चुनावमा उठ्ने अवस्था निर्माण भएको हो ।
जिल्ला समन्वय त्यागेर प्रसाईंको अभियानमा थुलुङ
नेपाली कांगे्रसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल थुलुङ राईले दुर्गा प्रसाईंको अभियानमा जोडिन पार्टी त्यागेका छन् । कांग्रेसमा आफैंमात्र मालिक बन्नुपर्ने प्रवृत्तिले हाबी भएको भन्दै गरिब र सर्वसाधारणको हितमा बोल्ने प्रसाईं भएको भन्दै थुलुङले कांग्रेस त्यागेर प्रसाईको अभियान रोजेको बताएका छन् ।
२०७९ सालको निर्वाचनमा कांगे्रस माओवादीसहितको गठबन्धनबाट जिसस प्रमुख बनेका उनले प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान नेपालको कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।
सफल जनप्रतिनिधि खोज्दै दलहरू
जेनजी आन्दोलनपछिको अवस्थामा विगतको जस्तो दलका नामले वा भाषणले मात्रै चुनाव जित्न कठिन भएका कारण राजनीतिक दलहरूले स्थानीय स्तरमा जनतासँग नजिक रहेका र दुःखसुखमा साथ रहेका जनप्रतिनिधिलाई उम्मेदवारको रूपमा अगाडि सार्ने निष्कर्षमा पुगेको बुझिएको छ । नेपाली कांगे्रसबाट ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित चिरीबाबु महर्जनलाई पनि पक्का जित्ने व्यक्तिको रूपमा लिएर उम्मेदवार बनाउने चर्चा चलेको छ ।
ललितपुरका मेयर महर्जन आफैँले भने उम्मेदवार बन्ने विषयमा अहिले मुख खोलिसकेका छैनन् । पार्टीले निर्णय गरेको खण्डमा उम्मेदवार बन्नुपर्ने अवस्था आउन सक्छ भन्दै आन्तरिक छलफल सुरु गरेको महर्जन निकट स्रोतले बताएको छ ।
‘रास्वपा’ ताक्दै पुराना दलका जनप्रतिनिधि
स्थानीय तहमा दोस्रो कार्यकाल पूरा गर्दै गरेका जनप्रतिनिधिहरू स्थानीय तह र पार्टीको साबिक जिम्मेवारी त्यागी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न लालायित भएको रास्वपाका एक नेताले बताए । रास्वपाको उम्मेदवार छनौट कार्यदल र सभापति रवि लामिछानेबीच मध्यस्थता गरिरहेका एक नेताले उम्मेदवारी र वार्तामा आउनेहरू धेरै पुराना पार्टीका दोस्रो कार्यकाल मेयर भएका जनप्रतिनिधिहरू रहेका छन् । ‘उहाँ भए जित्नुहुन्छ हजुरहरूको पार्टीको संगठन पनि त्यति धेरै छैन, एक पटक हजुरको पार्टीलाई जिताइदिन उहाँले सक्नुहुन्छ भन्दै निकट व्यक्तिहरूबाट प्रस्ताव आउने गरेको छ,’ ती नेताले भने ।
प्रधानमन्त्री बन्न काठमाडौं त्याग्दै बालेन
२१ फागुनमा हुने निर्वाचनमा सहभागी भएर प्रधानमन्त्रीको उम्मेदवार हुने राजनीतिक सहमति गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा एकीकृत हुन गएका काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ९बालेन०ले पदत्याग गर्ने सम्भावना करिब निश्चित भएको छ । बालेन जनप्रतिनिधिको रूपमा एक्लै भए पनि आफ्नो सचिवालयदेखि आफू निकट रहेका कारण नगर प्रहरीको प्रमुख बनाएका राजु पाण्डेसमेतलाई राजीनामा गराएर चुनावमा सहभागी हुने तयारीमा छन् ।
बालेनको सचिवालयमा रहेका भूपदेव शाहदेखि पूर्वाधार सल्लाहकार सुनिल लम्साल र मिडिया सल्लाहकार सुरेन्द्र बजगाई ंसमेत प्रतिनिधिसभा निर्वाचनका लागि तयारीमा जुटेका छन् । सचिवालयका अरूको उम्मेदवारीको चाहनालाई स्वाभाविक मानिए पनि जनमतको अपमानका कोणबाट बालेनको राजीनामालाई भने काठमाडौ ंका जनताले प्रश्नको रूपमा बोक्न सक्ने विश्लेषकहरू बताउँछन् ।
नमुना शासन चिनाउन भरतपुर छाड्दै रेणु
तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव जितेकी रेणु दाहालले आफ्नो विकासको मोडल सिंगै नेपाललाई देखाउन भन्दै भरतपुर महानगरपालिकाको मेयर त्यागेर चितवनबाट प्रतिनिधिसभा सदस्यको रूपमा चुनाव लड्दैछिन् । उनले आफ्नो नाम पार्टी पंक्तिबाट सिफारिस हुनेदेखि शीर्ष नेतृत्वसँग सरसल्लाह पनि भइसकेको जनाएकी छन् भने महानगरपालिकामा भएका विकासका कामहरूलाई मोडल बनाएर चुनावी प्रचार नै सुरु गरिसकेकी छन् । मध्यनेपालको अन्तर्राष्ट्रिय गुणस्तरको शहर भन्दै दाहालको चुनावी प्रचार सुरु भइसकेको सामाजिक सञ्जालबाट झल्को देखिएको छ ।
प्रधानमन्त्री बन्नैका लागि धरान छाड्दै हर्क
धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर जितेका मेयर हर्क साम्पाङले पनि आफ्नो पद त्याग गरी संघीय चुनाव उठेर प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन् । धरानका जनतालाई कोकाहा खोलाको पानी ल्याएर खुवाउने सपना देखाएर चुनाव जितेका साम्पाङले पानीको परियोजना पूरा गरेर नमुना काम गरेको दाबी गर्दै सरल जीवनशैलीको स्वाभिमानी प्रधानमन्त्रीको रूपमा आफूलाई अगाडि सार्दै संघीय चुनावका लागि स्थानीय सरकारको प्रमुख राजीनामा गर्ने भएका हुन् ।राजधानी दैनिकबाट साभार

















