बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता

काठमाण्डौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन नेतृत्व समूह र ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीलाई समेटेर पदाधिकारी बाँडफाँट गरेको छ । रास्वपा सभापति रवि लामिछाने, मेयर शाह र मन्त्री घिसिङबिच शनिबार भएको सहमतिअनुसार केन्द्रीय समिति बैठकले आइतबार सबै पक्षलाई समेटेर पद बाँडफाँट गरेको हो । बालेन सभापति रविपछिको वरीयतामा वरिष्ठ नेता रहनेछन् । उनको टिमबाट पूर्वाधार क्षेत्रका इन्जिनियर सुनील लम्साल महामन्त्री बन्ने छलफल चलिरहेको छ ।

केन्द्रीय सदस्य असीम शाहका अनुसार केन्द्रीय समितिले पार्टी एकीकरण एवं विस्तारका क्रममा पार्टीले यसअघि गरेको सम्झौता कार्यान्वयनका लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता पद थपेको छ । उपसभापतिमा कुलमान घिसिङ यसअघि नै मनोनीत हुने तय भइसकेको छ । महामन्त्री भने बालेनको समूहले पाउनेछ । सहमहामन्त्री र सहप्रवक्ता पद भने उज्यालो नेपालले पाउनेछ । उज्यालो नेपालका नेताहरूले यी पदमा कसलाई पठाउने भन्ने टुंगिनसकेको बताएका छन् ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायलाई रास्वपाको संघीय सल्लाहकार परिषद् अध्यक्षको जिम्मेवारी दिइएको छ । परिषद्मा यसअघि विवेकशील साझाबाट समायोजन भएकालाई जिम्मेवारी दिइसकिएको छ । केन्द्रको सल्लाहकार परिषद्ले नेतृत्वलाई सल्लाह दिने, नीतिगत, राजनीतिक विषयमा केन्द्रीय कमिटीलाई पनि मार्गदर्शन गर्ने काम गर्छ ।

रास्वपा केन्द्रीय समिति बैठकले विवेकशील साझाको नेतृत्व तहमा रहेका सातजनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । जसमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना मनोनीत भएको प्रवक्ता मनीष झाले बताए । केन्द्रीय सदस्य मनोनीत भएपछि विवेकशीलकी तत्कालीन अध्यक्ष बास्कोटाले बलियो पार्टी बनाउन लाग्ने बताइन् । ‘अब वैकल्पिक राजनीतिको मूलधारको पार्टी बन्दै, जेन–जी आन्दोलनपछि भ्रष्टाचार बेथितिविरुद्ध आवाज उठाउँदै एकता प्रक्रियामा आएको, अहिले कुलमान, बालेन आइसके । यो वैकल्पिक केन्द्रमा अरू पनि आउनेछन् । हाम्रो सामूहिक प्रतिबद्धता यसलाई सुदृढ बनाएर कसरी जाने, सशक्त लोकतान्त्रिक बलियो पार्टी कसरी बनाउने भनेर लाग्नेछौँ,’ उनले भनिन् ।

प्रत्यक्षतर्फ उम्मेदवार छान्न वाग्लेको संयोजकत्वमा उपसमिति
रास्वपाले प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छान्न उपसमिति गठन गरेको छ । चुनावमा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरिएको प्रवक्ता झाले बताए । उनका अनुसार उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रियासमेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ । ६ माघमा तोकिएको उम्मेदवारी दाखिलाको अघिल्लो दिनसम्म उपसमितिले उम्मेदवार टुंग्याउनेछ । रास्वपाले २१ मंसिरमै प्रत्यक्षतर्फ उम्मेदवारी दिन चाहनेलाई अनलाइन आवेदन दिन आह्वान गरिसकेको छ ।

समानुपातिक त्रुटि सच्चिँदै
रास्वपाले समानुपातिक उम्मेदवार बन्दसूचीमा भएका त्रुटि सच्याउने क्रम चलिरहेको जनाएको छ । केन्द्रीय समिति बैठकमा बन्दसूची विवादमा परेको विषयमा विपिन आचार्य, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, डिपी अर्याल र स्वर्णिम वाग्लेले स्पष्ट पारेका थिए । सचिवालय सदस्य पराजुलीका अनुसार बन्दसूचीको विवाद टुंगिसकेको छ । एक–दुई दिनमै संशोधित सूची आयोगमा बुझाउने तयारी छ । उनका अनुसार त्रिशला गुरुङ, सचिन ढकाल, डा। महेन्द्र लावती, आशिफ शाह, टासी ल्हाक्पा शेर्पालगायतले उम्मेदवारी फिर्ता लिइसकेका छन् । जुन टिमबाट नाम फिर्ता लिइएको हो, सोही टिमको सिफारिसका आधारमा बन्दसूचीमा नाम समावेश गरिनेछ । ‘त्रुटि गर्ने छुट रास्वपालाई छैन । सच्याउने प्रतिबद्धता जाहेर गरेका छौँ । व्यक्तिभन्दा विधिलाई प्राथमिकता दिन्छौँ,’ उनले भने ।

समानुपातिक बन्दसूचीको विवादका सम्बन्धमा पराजुलीले रास्वपाभित्रै समानुपातिक आकांक्षी ३८३ जना रहेको र बालेन तथा कुलमान समूहबाट समायोजन गर्दा धेरै साथी छुट्न गएको र पछाडि पर्न गएको बताए । ‘समानुपातिकका लागि ३८५ आवेदकबाट ११० छान्नुपर्ने थियो । त्यसमा पनि दुईवटा शक्तिलाई जोडेर उनीहरूलाई समावेश गर्दै गर्दा हाम्रा कैयौँ साथीहरू पछि पर्नुपर्ने यो अवस्था सिर्जना भएको हो । सबै कुरालाई मध्यनजर गरेर हेर्नुपर्छ । एउटा मात्रै कारणले हेर्दा अन्याय हुन्छ । केही प्राविधिक त्रुटिहरू सच्याएर अगाडि जाने कुरा । सच्याउने क्रम चलिरहेको छ । आयोगमा बुझाएपछि संशोधित नयाँ बन्दसूची सार्वजनिक गर्छौँ,’ उनले भने ।

पराजुलीले समानुपातिकका लागि प्राइमरी फ्याक्टर, लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्जिमिटी चरणहरू रहेको बताए । ‘समानुपातिकका लागि ४१८ आवेदन परेको थियो । योग्य ३८५ लाई चयन गर्ने प्रक्रियामा ५० प्रतिशत मतभार प्राइमरी इलेक्सन, १० प्रतिशत प्रदेश तहबाट दिइने मतभार राखेका थियौँ । बाँकी ४० अंक केन्द्रीय सचिवालयले कार्यसम्पादन मूल्यांकनका आधारमा नम्बर दिने हो,’ उनले भने, ‘प्राइमरी इलेक्सनमा सबैभन्दा धेरै मत ल्याएकै कारण बन्दसूचीमा परे भन्ने होइन । विधि–प्रक्रिया बुझ्नुपर्छ । सबै परिणामलाई सार्वजनिक गरिनेछ । बन्दसूचीमा भएका त्रुटि सच्याएर परिणाम सार्वजनिक गर्छौँ ।’

बालेन समूहका २६ केन्द्रीय सदस्य
रास्वपाले बालेन समूह र जेन–जीका तर्फबाट २६ केन्द्रीय सदस्य मनोनीत गरेको छ । आइतबार साँझ बसेको केन्द्रीय समितिको दोस्रो बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता झाले बताए । ‘बैठकले काठमाडौंका मेयर बालेनसहित २६ जनालाई केन्द्रीय समिति सदस्यका रूपमा अनुमोदन गरेको छ,’ उनले भने । बालेनको टिमबाट सुनील लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, लक्ष्मण थारू, रमेश पौडेल, सन्तोष गिरी, खगेन्द्र सुनार, डा। नमिता यादव, गणेश पौडेल, सरिता ज्ञवाली, सुशान्त वैदिक, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, राजकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसूदन ढकाल, ओजश्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे, खेमराज साउद छन् ।

केन्द्रीय समितिमा उज्यालो नेपालका केन्द्रीय सदस्यहरूलाई पनि समेटिने तयारी छ । ‘राम्रो मान्छे जति छन्, विधानले दिएसम्म ल्याउँ भन्ने छ । केन्द्रीय सदस्य ल्याउने कुरा दुवै पार्टीमा रहेकालाई छानेर ल्याउने भन्ने छ,’ प्रवक्ता झाले भने । केन्द्रीय समिति बैठकले पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निष्कर्षमा पुर्‍याउन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गरेको छ । उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने प्रवक्ता झाले बताए । नयाँ पत्रिकाबाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation