काठमाडौं । जेनजी आन्दोलनपछिको विशिष्ट परिस्थितिमा सरकारका मन्त्री, सचिव तथा उच्चपदस्थले विदेश भ्रमणलगायतका विलासी क्षेत्रमा कम प्राथमिकता दिने घोषणा गरेको भएपनि ‘जेनजी’ सरकारमा विदेश भ्रमणको मोह बढेको पाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकबाट मात्रै ७ वटा विदेश भ्रमण स्वीकृति दिइएको सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
एउटै बैठकबाट ७ भ्रमण स्वीकृति
सूचना तथा सञ्चारमन्त्री खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा। मदन परियार र ४ जना सचिव तथा निर्वाचन आयोगका आयुक्त जानकीकुमारी काफ्लेलाई विदेश भ्रमणको स्वीकृति दिइएको बताएका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णयमा विदेश भ्रमणका निर्णय नै ७ वटा रहेका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले कृषिमन्त्री परियारलाई आगामी २६–२८ माघसम्म इटलीको रोममा आयोजना हुने ४९औं सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेण्टमा सहभागी हुन स्वीकृति दिएको हो । मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगका आयुक्त डा। जानकीकुमारी तुलाधरलाई म्यानमार भ्रमणका लागि स्वीकृति दिएको छ ।
तुलाधर म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा आगामी ९–१२ माघसम्म सहभागी हुन जाने भएकी छन् । निर्वाचनको संघारमा रहेको सरकारले ४ जना सचिवको विदेश भ्रमण पनि स्वीकृत गरेको छ ।
अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई मेक्सिकोमा २६ माघदेखि १ फागुनसम्म आयोजना हुने एएमएल–सिएफटीसम्बन्धी प्लेनरी बैठकमा सहभागी हुन स्वीकृति दिइएको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरेको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई चीन भ्रमणको लागि स्वीकृति दिएको छ । घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल आगामी ६–७ माघमा चीनको सिजाङ ९ल्हासा० मा आयोजना हुने नेपाल–चाइना कोर्डिनेसन मेकानिजम अन बोर्डर ट्रेड एन्ड कर्पोरेसनको तेस्रो बैठकमा सहभागी हुन जाँदैछन् ।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। दीपक काङ्खलेलाई मोरक्कोको माराकेसमा आयोजना हुने छैटौं ग्लोबल कन्फ्रेन्स अन द एलिमेसन अफ चाइल्ड लेबर सम्बन्धी कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको छ । सचिव काङ्खले २८ माघदेखि १ फागुनसम्म उक्त कार्यक्रममा सहभागी हुने जानकारी गराइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुने गरी भ्रमण स्वीकृति भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटालाई स्विट्जरल्याण्ड भ्रमणका लागि स्वीकृति दिइएको छ । आगामी १९ देखि २४ माघसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठनको १५९ औं सेसन अफ द एक्ज्युकिटिभ बोर्डमा सहभागी हुन सचिव देवकोटा जाने भएका हुन् । मन्त्री, सचिव तथा आयुक्तका विदेश भ्रमण प्रमुख भूमिकामा नभई सहभागीका रूपमा हुने गरेको भए पनि हरेक मन्त्रालयमा आएका निम्तोमा मन्त्री वा सचिवले नछुटाई जाने रहर गर्ने गरेको प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए ।
‘अन्तर्राष्ट्रिय निकायका निम्तोपिच्छे जानैपर्छ भन्ने हुँदैन, धेरै निम्तोहरूमा आयोजकले नै भ्रमण भत्तादेखि टिकट खर्चसमेत व्यवस्था गरिदिएका हुन्छन्, केहीमा नेपाल सरकारको पनि खर्च होला तर खर्च कसको भन्दा पनि हाम्रो भूमिका त्यहाँ के हुन्छ भन्ने हेरिदिए हुने निम्तो आयो कि दगुर्ने बानीले देशको इज्जत घटेको छ,’ ती सचिवले भने ।
प्रेस सल्लाहकार र अध्यक्ष नियुक्ति
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार रामबहादुर रावललाई नियुक्त गरेको छ । करिब तीन महिना अघिदेखि प्रधानमन्त्रीको सचिवालयमा रहेर प्रेसको संयोजनकारी भूमिकामा रहेका रावललाई सोमबार प्रेस सल्लाहकारमा नियुक्ति गरिएको सरकारका प्रवक्ता खरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद ९अखण्ड० भण्डारीलाई नियुक्त गरेको छ । अन्नपूर्ण पोस्टमा लामो समय सम्पादकीय नेतृत्वमा काम गरेका भक्तपुर निवासी भण्डारी साहित्यकार पनि हुन् ।
सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य उद्धवप्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गर्ने र उक्त पदमा मधुकर राना, ललितपुरलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।राजधानी दैनिकबाट साभार

















