भारतले निर्वाचनका लागि ३७७ गाडी दिने

काठमाण्डौं ।२१ फागुनका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि भारतले तीन सय ७७ वटा गाडी सहयोग गर्ने भएको छ । तीमध्ये धेरैजसो गाडी सुरक्षा निकायलाई दिने तयारी छ । पहिलो लटका गाडी एक साताभित्र आइपुग्ने गृह मन्त्रालयले जनाएको छ । ‘करिब चार सय गाडी भारतबाट अनुदानस्वरूप आउँदै छ,’ गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, ‘त्यसमध्ये १०६ वटा एक साताभित्र आइपुग्नेछ ।’ यसरी आउने गाडीमध्ये धेरै सुरक्षा निकायलाई दिइने उनी बताउँछन् ।

जेन–जी आन्दोलनमा प्रहरीका धेरै सवारीसाधन जलेका थिए । निर्वाचनमा थप सवारीसाधन चाहिने भएकाले नियमित बजेटबाट पनि नेपाल प्रहरीले १८५ वटा गाडी खरिद गर्ने निर्णय गरिसकेको छ ।

गृह मन्त्रालयले निर्वाचनलाई लक्षित गरी प्रहरी परिचालन थालिसकेको छ । निर्वाचन प्रहरी पनि भर्ना प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । शनिबारसम्म दरखास्त लिएर आइतबारदेखि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्नाको प्रक्रिया अघि बढाउन लागिएको छ । गृह मन्त्रालयका प्रवक्ता काफ्लेले निर्वाचनको सुरक्षाका लागि तयारी तीव्र रूपमा अघि बढिरहेको बताए ।

सशस्त्र प्रहरी मोबाइल र स्ट्राइकिङमा खटिने
निर्वाचनमा सशस्त्र प्रहरी बलले हरेक निर्वाचन क्षेत्रमा मोबाइल र स्ट्राइकिङ टोली खटाउने भएको छ । यस्ता टोली खटाउन जनशक्ति कम हुने भएपछि सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्दै छ । उनीहरूलाई मोबाइल र स्ट्राइकिङ टोलीमा खटाउने तयारी छ । ‘हाल स्ट्राइकिङ टोलीमा १९ जना मात्र हुने गरेका छन्,’ सशस्त्र प्रहरीका एक अधिकारीले भने, ‘निर्वाचन प्रहरी थपेर २५ जना खटाउँछौँ ।’ यसपटक सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मतदानस्थलको संख्या थप भएसँगै सशस्त्र प्रहरीलाई जनशक्ति व्यवस्थापनमा समस्या हुने भएपछि निर्वाचन प्रहरी भर्नाको अनुमति दिइएको छ । निर्वाचन प्रहरीलाई चुनावपछि विपत् सूचक बनाउने सशस्त्र प्रहरीको तयारी छ । नयाँ पत्रिका बाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation