यि हुन जसले आफैँलाई भोट दिन नपाउने उम्मेदवार

काठमाण्डौं ।२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भावी प्रधानमन्त्रीका दाबेदार, प्रमुख दलका शीर्ष नेतादेखि स्वतन्त्रसम्मका दर्जनौँ उम्मेदवार आफैँलाई भोट हाल्नबाट वञ्चित हुने भएका छन् । आफ्नै मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका उनीहरू कानुनी व्यवस्थाका कारण आफैँलाई भोट हाल्नबाट वञ्चित हुने अवस्था आएको हो ।

कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफैँलाई भोट हाल्न पाउनेछैनन् । त्यस्तै, कांग्रेस महामन्त्री प्रदीप पौडेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, एमाले सचिव भानुभक्त ढकाल, कांग्रेसका नेता डा। शेखर कोइरालालगायतका नेता पनि आफैँलाई भोट हाल्न नपाउने उम्मेदवारको सूचीमा छन् । उनीहरू आफ्नो मतदाता नामावली भएकोभन्दा भिन्न क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

भावी प्रधानमन्त्रीका दुई दाबेदार ओली र बालेन झापा ५ बाट उम्मेदवार छन् । उनीहरू दुवैलाई आ–आफ्ना पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् । ओलीको मतदाता नामावली भक्तपुर २ मा छ भने बालेनको मतदाता नामावली काठमाडौं २ मा छ । ओली आठौँपटक यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । यसरी उनीहरू दुवैले आफैँलाई भोट हाल्न पाउनेछैनन् ।

बालेन काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर पहिलोपटक संसदीय चुनाव लड्दै छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएबाहेक ओलीले जित्दै आएका छन् । ०४६ को जनआन्दोलनपछि ०४८ मा भएको पहिलो आमनिर्वाचनदेखि ०५१ र ०५६ को प्रतिनिधिसभा निर्वाचन, ०७० र संविधान जारी भएपछि भएको ०७४ र ०७९ को निर्वाचनमा ओलीले जित हासिल गरेका थिए । चारपटक प्रधानमन्त्री भइसकेका ओलीलाई एमालेले फेरि भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । ओलीले संविधानसभा निर्वाचनपछि झापाबाट भक्तपुरमा मतदाता नामावली सारेका हुन् ।

भावी प्रधानमन्त्रीका अर्का दाबेदार कांग्रेस सभापति थापाले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । उनी सर्लाही ४ बाट उम्मेदवार बनेका छने भने मतदाता नामावली काठमाडौं ४ मा छ । पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद् बनेका थापा त्यसपछिका निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थिए । यो निर्वाचनमा भने उनले आफैँलाई मतदान गर्न पाउने छैनन् । कांग्रेसले उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।

नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पनि आफैँलाई मतदान गर्न पाउनेछैनन् । संसदीय अंकगणितले साथ दिए उनी पनि प्रधानमन्त्रीका आंकाक्षी नेता हुन् । रुकुमपूर्वबाट उम्मेदवार बनेका प्रचण्डको मतदाता नामावली चितवन ३ मा छ । पाँचौँपटक उम्मेदवार बनेका प्रचण्डले सुरुदेखि नै निर्वाचन क्षेत्र बदल्दै आएका छन् । उनले एकपटक मात्र आफूलाई मतदान गर्न पाएका छन् ।

०६४ को पहिलो संविधानसभामा रोल्पा २ र काठमाडौं १० बाट उम्मेदवार बनेका प्रचण्ड दुवै क्षेत्रबाट विजयी भएका थिए । ०७० को दोस्रो निर्वाचनमा प्रचण्ड काठमाडौं १० र सिराहा ५ बाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा काठमाडौंबाट पराजित भएका थिए भने सिराहाबाट विजयी भएका थिए । संविधान बनेपछि एक क्षेत्रबाट मात्रै निर्वाचन लड्न पाउने कानुनी व्यवस्थापछि ०७४ सालको निर्वाचनमा प्रचण्ड चितवन ३ बाट उम्मेदवार बनेका थिए । उनी त्यति वेला भने आफू मतदाता भएकै क्षेत्रमा उम्मेदवार बनेका कारण आफूलाई भोट हाल्न पाएका थिए । उनी चितवनबाट पनि विजयी भएका थिए । ०७९ को निर्वाचनमा प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए ।

रास्वपा सभापति रवि लामिछानेले पनि आफूलाई भोट हाल्न पाउनेछैनन् । चितवन २ का उम्मेदवार लामिछानेको नामावली भने काठमाडौं ३ मा रहेको छ । उनी तेस्रोपटक निर्वाचन लड्दै छन् । यसअघि ०७९ मा उनी चितवन २ बाटै उम्मेदवार बनेर निर्वाचित भएका थिए । तर, नागरिकता प्रकरणमा अदालतले सांसद पद खारेज गरेपछि उनी पुनः चितवन २ बाटै उपनिर्वाचन लडेर सर्वाधिक मतसहित निर्वाचित भएका थिए । गत दुवै निर्वाचनमा आफूलाई मतदान गर्न नपाएका लामिछानेले यसपटक पनि मतदान गर्न पाउनेछैनन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत दिन पाउनेछैनन् । सप्तरी ३ मा उम्मेदवार रहेका यादवको मतदाता नामावली भने मोरङ ५ मा छ । उनी ०६४ सालदेखि निर्वाचन लड्दै आएका छन् । अघिल्लोपटक पनि उनले मतदान गर्न पाएका थिएनन् । ०७९ मा सप्तरी २ बाट उम्मेदवार बनेका यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । त्यसपछि उपनिर्वाचनमा बारा २ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । त्यति वेला पनि उनले आफूलाई मतदान गर्न पाएका थिएनन् ।

नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार छन् । उनको मतदाता नामावली गोरखा २ मा रहेकाले उनले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । श्रेष्ठ राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बनेका हुन् ।कांग्रेस महामन्त्री प्रदीप पौडेलले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । उनको मतदाता नामावली तनहुँ २ मा छ । उनी उम्मेदवार काठमाडौं ५ बाट बनेका छन । तनहुँबाट ०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका थिए । गत ०७९ को निर्वाचनमा भने पौडेल काठमाडौं ५ बाट निर्वाचन लडे । मतदाता नामावली भने तनहुँमै भएका कारण उनले आफूलाई मतदान गर्न पाएका थिएनन् ।

रास्वपा उपसभापति स्वर्णिम वाग्ले तनहुँ १ बाट उम्मेदवार छन् । उनले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । उनको मतदाता नामावली गोरखा १ मा छ । त्यस्तै, राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले पनि आफुलाई भोट दिन पाउने छैनन् । काठमाडौं १ बाट उम्मेदवार बनेका उनको मतदाता नामावली ललितपुरमा छ । यसअघिका दुई निर्वाचनमा पनि मिश्र काठमाडौं १ बाटै चुनाव लडेका थिए । तेह्रथुमबाट उम्मेदवार बनेका एमाले सचिव भानुभक्त ढकालले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । उनको मतदाता नामावली मोरङ ३ मा छ ।

गत ०७९ मा मोरङ ३ बाटै उम्मेदवार बनेका ढकाल कांग्रेसका सुनील शर्मासँग पराजित भएका थिए । कांग्रेसका नेता डा। शेखर कोइराला र मीनेन्द्र रिजालले पनि आफूलाई मत दिन पाउनेछैनन् । मोरङ ६ मा उम्मेदवार रहेका कोइरालाको नामावली मोरङ ४ मा छ । अघिल्लो निर्वाचनमा पनि कोइरालाले आफूलाई मतदान गर्न पाएका थिएनन् । त्यस्तै, रिजाल मोरङ २ बाट उम्मेदवार बनेका छन्, तर उनको मतदाता नामावली मोरङ ४ मा छ । कांग्रेसकी पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ९डिना० मकवानपुर १ बाट उम्मेदवार छिन् । तर, उनको मतदाता नामावली मकवानपुर २ मा रहेकाले उनले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् ।

धनुषा ३ मा एमालेबाट उम्मेदवार बनेकी जुली महतोले पनि आफूलाई मतदान गर्न नपाउने भएकी छिन् । उनको मतदाता नामावली धनुषा ४ मा छ । गत ०७९ को निर्वाचन धनुषा ३ बाटै विजयी भएकी महतोले आफूलाई मतदान गर्न पाएकी थिइनन् । एमालेबाटै उम्मेदवार बनेका रुपन्देही ३ मा वासुदेव घिमिरे, रुपन्देही ४ मा उम्मेदवारी दिएका प्रमोद यादवले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । घिमिरेको मतदाता नामावली रुपन्देही २ मा छ भने यादवको रुपन्देही २ मा छ ।
नेकपाका नेता देवेन्द्र पौडेलले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । नवलपरासी पश्चिम २ बाट उम्मेदवार बनेका पौडेलको मतदाता नामावली बागलुङ १ मा छ । नेकपाबाटै कैलाली ५ मा उम्मेदवार बनेका प्रेम आले र मनाङबाट उम्मेदवार बनेकी यसोदा सुवेदी पनि आफुलाई भोट दिनबाट बञ्चित हुनेछन् । आलेको मतदाता नामावली डोटीमा छ भने सुवेदीको लमजुङमा नामावलीमा छ ।

कांग्रेसबाट नवलपरासी १ मा उम्मेदवार बनेका कांग्रेसका विनोद चौधरी र तनहुँ २ मा उम्मेदवारी दिएका शंकर भण्डारीले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । चौधरीको मतदाता नामावली नवलपुर १ मा छ भने भण्डारीको तनहुँ १ मा छ । त्यस्तै, बाँके ३ बाट उम्मेदवार बनेका कांग्रेसका अम्मरसिंह पुनको मतदाता नामावली रोल्पामा छ । उनले पनि आफूलाई मतदान गर्न पाउनेछैनन ।

रास्वपाबाट काठमाडौं ४ मा उम्मेदवार बनेका पुकार बम, झापा १ की निशा डाँगी, बागलुङ २ का सोम शर्मा र बाँके ३ का खगेन्द्र सुनारले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । बमको मतदाता नामावली काठमाडौं १ मा, डाँगीको झापा ३ मा, शर्माको बागलुङ १ मा र सुनारको दैलेखमा छ ।झापा ४ बाट उम्मेदवार बनेका राप्र्रपाका भक्तिप्रसाद सिटौलाको मतदाता नामावली झापा २ मा छ । उनले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । जाजरकोटबाट नेमकिपाका उम्मेदवार धनराम जैसीले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । उनको मतदाता नामावली दैलेखमा छ ।

चुनावी सरकारमा शिक्षा मन्त्रालय सम्हालेर दुई दिनअघि मात्रै राजिनामा दिएर म्याग्दी १ मा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले पनि आफुलाई मत दिन नपाउने भएका छन् । उनको मतदाता नामावली चितवनमा छ । श्रम संस्कृति पार्टीबाट बागलुङ १ बाट उम्मेदवार बनेका लालबहादुर घर्ती र उज्यालो पार्टीबाट स्याङ्जा १ मा उम्मेदवारी दिएका रवीन्द्र मल्लले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । घर्तीको मतदाता नामावली बागलुङ २ मा छ भने मल्लको कास्कीमा छ । जनमतबाट बर्दिया २ का उम्मेदवार शशीकुमार यादवको मतदाता नामावली धनुषाको जनकपुर उपमहानगरपालिकामा छ । उनले पनि आफुलाई मत दिन पाउने छैनन् । नयाँ पत्रिकाबाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation