नेपाल ‘निपाह’ भाइरसको उच्च जोखिममा

काठमाण्डौं ।भारतको पश्चिम बंगालमा फैलिरहेको निपाह भाइरसको जोखिममा उच्च रहेको भन्दै सर्तक रहन विज्ञहरुले सुझाएका छन् । नेपाल उच्च जोखिममा रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्राललय स्वास्थ्य विपद् तथा आपतकालिन केन्द्रले सीमानाका, स्वास्थ्य संस्था र अस्पताल सवैलाई उच्च सतर्कतामा राखेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार सीमा नाकामा हेल्थ डेस्क, विरामीहरुको निगरानी गर्ने, अस्पतालहरुलाई यस्तो लक्षण भएका बिरामी आएमा उपचार परिक्षण र रिपोर्ट संयन्त्रमा जानको लागि निर्देशन दिइसकेको बताए ।‘सवै अस्पताललाई नमूना लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउन भनिसकेका छौ’ उनले भने ।

भारतको पश्चिम बंगालामा गत सोमबार पहिलो व्यक्तिमा पहिचान भएको थियो । यो अवधिमा पाँच जनामा संक्रमण पुष्टि भएको र एक जनालाई क्वारेनटाइनमा राखिएको छ । तीमध्ये ३० जनालाई उच्च निगरानीमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । संक्रमित मध्येमा दुई नर्स, एक चिकित्सक र स्वास्थ्य कर्मचारीसहित छन् । ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र आइसियुमा उपचार भइरहेको छ ।

सीमा जोडिएको पश्चिम बंगालसँग नेपालको आवात–जावत र खुल्ला सीमाना भएकोले नेपाल संक्रमणको उच्च जोखिममा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए । यसको साथै नेपालमा निपाह भाइरस सार्ने प्रजातिको चमेरो र सुँगुर पनि रहेकोले निपाहको संक्रमणको जोखिम रहेको पुन बताउँछन् ।

नेपाल भू–मार्ग हुँदै दैनिक पश्चिम बंगालवाट आवात-जावात भइरहेको हुनाले उच्च जोखिममा रहेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए । ‘सिधै आवात–जावात भइरहेको छ, रोगको संक्रमणको लक्षण देखिनु अघि नै मानिसहरु आएका हुन सक्छन’ उनले भने ।

के निपाह भाइरस ?

फ्रुट व्याट नामक चमेरोमा हुने भाइरस हो । यो भाइरस गाइँभैसी, सुँगुर हुँदै मानिसमा सर्छ । जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने प्रक्रिया हुन्छ । चमेरोले संक्रमण गरेको फलफूल खाएमा, चमेरो सुंगुर तथा गाईको सम्पर्कमा पुगेमा पनि यो भाइरसको संक्रमण जनावरदेखि जनावरमा हुन्छ । संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा मानिसमा सर्छ । संक्रमित सुँगुर तथा मानिसको नजिकको सम्पर्कमा पुगेमा पनि यो भाइरस सर्ने चिकित्सक बताउँछन ।

निपाह भाइरस सन् १९९८ मा पहिलो पटक मलेसिया र सिंगापुरमा देखा परेको थियो । भारतमा भने पटक-पटक देखिएको छ । भारतको केरलामा २०२३ मा, बंगलादेशमा सन् २००१ र भारत पश्चिम बंगालकै सिलगुरीमा यो भाइरस फैलिएको थियो ।

यो भाइरसले संक्रमण गरेको चारदेखि ८ दिनभित्र लक्षण देखिन्छ । कडा टाउको दुख्ने, ज्वरो आउने, रिंङ्गटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वास–प्रश्वासमा कठिनाइ हुने र घाँटी दुख्ने जस्ता लक्षण देखिन्छन । निपाह भाइरसको संक्रमण भएमा ४० प्रतिशत मृत्युदर हुन्छ । यो भाइरसको संक्रमण भएपछि मृत्युको उच्चदर भएकोले यसको संक्रमणहुनवाट बच्नु नै मुख्य उपाय भएको चिकित्सकहरु सुझाउँछन् ।

नेपालमा हालसम्म निपाह भाइरसको पुष्टि नभएको भएपनि यो भाइरस सार्ने प्रजातिका चमेरो रहेकोले नेपाल उच्च जोखिममा रहेको डा. पुन बताउँछन् । हामीले यसको विषयमा परिक्षण गर्ने चलन पनि छैन, यो भाइरस परिक्षणको लागि एचएलए फोर(४) तहको प्रयोगशाला आवश्यक पर्ने भएकोले त्यो अनुसार हाम्रो प्रयोगशालाको व्यवस्थापन आवश्यक भएको पुनले सुझाए ।

कसरी बच्ने ?

–फलफूल राम्रोसंग पखालेर खाने

–तरकारी सकेसम्म पकाएर खाने

–गाइवस्तुको गोठ र फार्म सफा राख्ने

–मासु काट्दा या पकाउँदा मास्कको प्रयोग गर्ने

–सकेसम्म पानी उमालेर पिउने

–बेला–बेलामा सावुनपानीले हात धुने

–भीडाभाडमा जाँदा मास्क लगाउने

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation