टेकराज भुसाल,जेठ ०२ अर्घाखाँची। देशको वर्तमान राजनीतिक परिस्थिति, संविधान संशोधन र बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषयमा गम्भीर बहस गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा “देशको वर्तमान परिस्थिति तथा संविधान संशोधन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले संविधान संशोधनका नाममा गणतन्त्रलाई कमजोर बनाउने प्रयास हुन सक्ने भन्दै त्यसप्रति सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरू सचेत हुनुपर्ने बताएका छन्। उनले अहिलेको अवस्थामा गणतन्त्रको रक्षा गर्नु नै पहिलो आवश्यकता भएको उल्लेख गर्दै संविधान संशोधन गर्दा राष्ट्रियता, सार्वभौमिकता र जनताले संघर्षबाट प्राप्त गरेका उपलब्धिहरूको संरक्षण हुनुपर्ने धारणा राखे।
महासचिव भट्टले वर्तमान संविधानमा रहेको संघीय संरचना मुलुकका लागि आर्थिक तथा प्रशासनिक रूपमा बोझ बनेको दाबी गर्दै संघीयता खारेज गर्नु अपरिहार्य रहेको बताए। उनले निर्वाचन प्रणाली परिवर्तन गर्ने विषय अहिले उपयुक्त नभएको उल्लेख गर्दै विद्यमान प्रणालीमै सुधार र स्थायित्व आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले नेपालको राजनीतिक घटनाक्रमलाई अन्तर्राष्ट्रिय शक्तिसँग जोड्दै पुराना राजनीतिक दलहरूले चीनलाई मित्र राष्ट्रका रूपमा स्वीकार गर्दा अमेरिकाको रणनीतिक उद्देश्य पूरा हुन नसकेको र त्यसैको परिणामस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को उदय भएको दाबी गरे। उनले रास्वपाले अघि सारेका राजनीतिक एजेन्डा दीर्घकालीन रूपमा सफल हुन नसक्ने टिप्पणी समेत गरे।
नेपाली काङ्ग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नेकपा ९एमाले० लुम्बिनी प्रदेश सदस्य केबी भुसाल, क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल अर्घाखाँचीका संयोजक राजेन्द्र नेपाली, प्रतिनिधि सभाका पूर्व सांसद बिजुला रायमाझीले लगायतले बोल्दै संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको मूल मर्म र गणतान्त्रिक चरित्र कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए। उनीहरुले राष्ट्रिय सहमति र जनभावनालाई आधार बनाएर मात्रै आवश्यक संशोधनका विषय अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा सहित विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, बुद्धिजीवी, संचारक्रमीहरुको उपस्थिति रहेको थियो।

















