‘बुढेसकालमा घर र नागरिकता दुवै पाएँ

काठमाण्डौं ।गोलबजार नगरपालिका–३ बुढीजमदह, सिराहामा छ, एउटा रैथाने बस्ती । चुरेको काखमा रहेको यो बस्तीका मानिस प्रायस् खेतीपाती र मजदुरी गर्दै जीविका चलाउँछन् । यही बस्तीमा हुर्किए ६४ वर्षीय नथु परियार । नथु दिनभर गाउँलेका पुराना कपडा सिलाउँथे । तर, उनको ओत लाग्ने छानो थिएन । छिमेकीको पिँढीमा, गोठमा आश्रय लिँदै रात बिताउँथे । मिहिनेती उनका लागि गाउँलेले चन्दा अभियान सञ्चालन गरेर ओत लाग्ने घर मात्र बनाइदिएनन्, खाटसहित ओढ्ने ओछ्याउने, खाना पकाउने ग्यास चुल्हो, भाँडावर्तनसमेतको जोहो गरिदिएका छन् ।

‘सपनाको घर’ नाम दिइएको शौचालयसहितको दुईकोठे जस्ताले छाएको पक्की घर स्थानीय दीपेश मोक्तान, आनन्द पाख्रिन, रतनकुमार घिसिङलगायतको अगुवाइमा बनेको हो । चन्दा संकलन गरी उनीहरूले करिब साढे पाँच महिनामा घर निर्माण गरी परियारलाई साँचोसहित हस्तान्तरण गरेका हुन् ।

नथुका बुबा मुगालालले त्यही गाउँमा सिलाइको काम गर्थे । २०३६ को पुसमा बुबाको निधन हुँदा नथु १८ वर्षका लक्का जवान थिए । नथुले त्यसपछि बुबाले गर्ने काम सम्हाले । आमाको पनि निधन भएपछि दुई भाइ र एक बहिनी उनैले सम्हाले । भाइबहिनी ठुला भएपछि आआफ्नै घरजम बसाउनतिर लागे । त्यसपछि एक्लिए नथु ।

७२ वर्षीय मेघप्रसाद पाख्रिनले सुनाए, ‘नथु छिमेकी जम्दह गाउँका रतनकुमार घिसिङको घरको पिँढीमा वर्षौंसम्म शरण लिएर बसे । गाउँघरमै सिरक–डस्ना सिलाएबापत कहिले थोरै पैसा, कहिले अन्न दिन्थे गाउँलेले । उनले त्यसैले जीविका चलाउँथे ।’

‘करिब १५ वर्षअघि जमदह गाउँ छाडेर धनुषा जिल्लाअन्तर्गत बटेश्वरको तामाङ बस्तीमा बस्न थालेका नथु तामाङ भाषा पनि फरर बोल्छन्,’ स्थानीय ७५ वर्षीय श्यामबहादुर घिसिङले भने । उनका अनुसार पाँच वर्षजति बटेश्वर गाउँमा बसेर पुनस् जन्मथलो फर्किएर चोरपाने गाउँका हर्क विश्वकर्माको घरको पिँढीमा बस्दै आएका नथुले गाउँ–गाउँ डुल्दै सिरक–डस्ना, थोत्रामोत्रा कपडा सिलाएर हातमुख जोड्दै आएका थिए ।

बाल्यकालदेखि नै गरिबी, अभावको पीडा झेल्दै आएका उनका लागि स्थानीय समाजले गरेको सहयोग सराहनीय रहेको जमदहका पूर्वगाविस उपाध्यक्ष अजिरमान थापाले सुनाए । ‘यो क्षेत्रमा व्यक्तिका लागि निजी घर बनाइदिएको पहिलो हो,’ उनले भने, ‘युवा पुस्ताले चाहने हो भने नसकिने के रहेछ र १’

उनको घर निर्माणका लागि थालिएको आर्थिक सहयोग संकलन सामाजिक सञ्जालमार्फत व्यापक बनाइएपछि एक लाख ७५ हजार चार सय ६६ रुपैयाँ संकलन भएको अगुवा आनन्द पाख्रिनले बताए । उनका अनुसार घर निर्माणका लागि स्थानीयसहित व्यवसायीले घरको कोरा, ढोका, इँटा, रंगरोगन, बिजुलीको सामान, भान्साका लागि भाँडावर्तन, ग्यास सिलिन्डरसहित चुल्हो उपलब्ध गराएका छन् । साथै सिलाइ मेसिनसहित एक लाख २० हजार रुपैयाँको जिन्सी सहयोग प्राप्त भएको उनले बताए ।

घर हस्तान्तरण कार्यक्रममा नगद, जिन्सी सहयोगसहित निर्माण खर्चको विवरण प्रस्तुत गरिएको थियो । एक लाख २० हजार एक सयबराबरको जिन्सी सामानसहित तीन लाख ४९ हजार तीन सय तीन रुपैयाँ खर्च भएको छ । ४४ हजार नौ सय रुपैयाँ बक्यौता रहेको विवरणमा उल्लेख छ ।

गोलबजारस्थित ट्रिनिटी स्कुलका सञ्चालक दिलिप बुढाथोकीले बढ्दो आधुनिकताले समाजमा ऐंचोपैंचो, सरसहयोग हराउँदै गएका वेला गाउँलेको पहलमा घरवारविहीन दलितको घर निर्माण गरिनु नयाँ पुस्ताका लागि पनि उदाहरणीय काम भएको बताए ।

गोलबजारस्थित दलित महिला केन्द्र नेपालले उनको नागरिकता बनाउन आर्थिक व्यवस्थापनदेखि घर निर्माणका लागि अभियान थालेको कार्यकारी निर्देशक तेजेन्द्र लामाले बताए । नथुका लागि नयाँ घर बनाउन वडा कार्यालयले जग्गाको व्यवस्थापन गरिदिएको हो । वडा कार्यालयले गोलबजार चोरपाने सडकअन्तर्गत बुढी जमदहस्थित जनता आधारभूत विद्यालयको पूर्वदक्षिणपट्टि कुनाको करिब १० धुर ऐलानी जग्गाको हकभोगको कागजात बनाइदिएपछि उनका लागि घर निर्माण गरिएको हो ।

६३ वर्षमा नागरिकता
नागरिकताका लागि कैयौँपल्ट कागजात बोकेर जिल्ला प्रशासन कार्यालय धाउँदाधाउँदै उनी थाकिसकेका थिए । ६३ वर्षको उमेरमा १६ असोज २०८१ मा बल्ल उनले नागरिकता पाए । ‘वडा कार्यालयको पहल र प्रयासमा सबै कागजात पुर्‍याएर सनाखतमा उनका भाइलाई राखिएपछि नागकिता बनेको हो,’ गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाले भने । ‘उनको नागरिकताका लागि सनाखत बसिदिन उनका कान्छो भाइ मिश्रलाल र सिन्धुलीमा बसोवास रहेका माहिलो भाइ ईश्वरलाई कैयौँपल्ट अनुरोध गर्‍यौँ,’ उनले भने, ‘बाबुआमाको नागरिकता लिएर सिन्धुलीमा बस्दै आएका भाइले त झन् मागेका वेला नागरिकता नै नदिने, लुकेर बस्न थालेपछि नागरिकता बन्न सकिरहेको थिएन ।’

दलित ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता लिन योग्य उमेर तीन वर्ष घर्किसकेको थियो । उनका भाइले बाबुआमाको नागरिकता दिइरहेका थिएनन् । वडाको समन्वय र दलित महिला केन्द्रको व्यवस्थापनमा गाउँका केही युवकलाई सिन्धुली पठाएर उनकी आमाको नागरिकता झिकाई छिमेकी गाउँका भाइलाई सनाखतमा राखेपछि नागरिकता बन्यो । ‘नागरिकता बनेपछि सामाजिक सुरक्षा भत्तासमेत लिन थाल्नुभएको छ,’ उनले भने, ‘सामाजिक सुरक्षा भत्ताले पनि उहाँको जीविकोपार्जनमा केही सहज भएको छ ।’

घर र नागरिकता पाएपछि दंग थिए नथु परियार । खुसी हुँदै उनले भने, ‘बुढेसकालमा उहाँहरूले घर बनाइदिनुभयो । नागरिकता पनि पाएँ । मेसिन पनि दिनुभयो । धेरै खुसी लागेको छ । अब गाउँ छाडेर कतै पनि जान्नँ ।’नयाँ पत्रिकाबाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation